यात्रा संस्मरण: राप्ती एक्सप्रेस

यस बर्षको दशैं नजिकिदै थियो । काठमाडौंमा कर्मथलो बनाउनेहरुका लागि घर जान पाउने अवसर वा बहाना पनि बन्दै थियो । नजिक घर हुनेलाई त त्यति समस्या नहोला तर टाढा घर हुनेका लागि भने एउटै कुराको चिन्ता हुन्थ्यो – घर जाने कसरी? अग्रिम टिकट कहिले खुल्ला? भनेको दिन टिकट पाउला कि नपाउला? । यस्तै चिन्ताले सताउनेमा म पनि एक थिएँ ।

‘अग्रिम टिकट बुकिङ खुल्न ढिलाई’ भन्ने अखबारका खबरले यो चिन्तालाई झनै बढाइदिए । तर ढिलै भएपनि टिकट बुकिङ खुल्यो । पहिलो दिन नै टिकट लिन जानलाई फुर्सद थिएन । त्यसको २ दिन पछि असोज १ गते शनिबारको बिदा थियो । त्यहि दिन जाने निर्णय गरे ।

१ गते पनि आयो । मसंगै जानलाई साथी सितारामलाई पनि भनेको थिएँ । उसले भने अरुलाई भनेर टिकट लिइसकेको रहेछ । टिकट पाउला कि नपाउला? मान्छेको भिड कति होला? लाईन कतिबेर बस्नुपर्ने हो? आदि इत्यादी चिन्ताका बीच लागियो नयाँ बसपार्कतिर । (यद्यपि टिकट नपाएकै खण्डमा चिनेको मान्छेमार्फत भन्न लगाउने बिकल्प पनि थियो) । जब बसपार्क पुगियो, अवस्था सोचेभन्दा अलिक फरक थियो । म थोरै अचम्मित पनि भएँ, किनभने भिड सोचेभन्दा कम थियो । टिकट यसअघि नै सक्केर भिड कम भको त होइन? मनमा चस्को पस्यो । म आफ्नो काउण्टर तर्फ लागे । म झनै अचम्मित भएँ, किनकि लाईन त छँदै थिएन । टिकट सजिलैसँग पाइयो । त्यो पनि रोजेकै सिट नम्बर ‘ए’ साइडको ३ र ४ । सजिलै टिकट पाउनुको कारण त थाहा भएन, तर नयाँ यातायात समितिहरु र गाडीहरु थप भएकोले होला भनेर अनुमान लगाए । टिकट काट्दा त दुख भएन तर फर्कदा पानीले बेस्सरी चुट्यो ।

बसको टिकट थियो असोज १९ गते बेलुकि ५:१५ बजेको – रात्री बस । उक्त दिनको पर्खाईमा रहदै गर्दा अर्को चिन्ता थियो बस कस्तो पर्ने हो । अग्रिम बुकिङ्को टिकट भएको कारण गाडी नम्बर पनि थाहा हुदैन्थ्यो । जाने दिन काउन्टरमा गएर बस नं. राख्न लगाउनु पर्थ्यो । यसपटक नयाँ गाडिको संख्या थपेको तथा टिकट पनि सजिलै पाइएको कारण राम्रै कण्डिसनको गाडी पर्नेमा म ढुक्क थिएँ । जाने दिन पनि आयो । जसोतसो समयमै बसपार्क पुगियो । गाडिको नं. हालिसकेपछी गाडिको खोजिमा लागें । नम्बर हेर्दै गएँ, बस लाइनमै आइसकेको रैछ । तर नम्बर र बस हेर्दा मन झसंग भयो । किनकी बसको नम्बर ‘ना ४ ख’ बाट सुरु हुन्थ्यो । अलि पुरानो लटको परेछ । गाडी हेर्दा पनि पुरानै देखिन्थ्यो । जेसुकै भएपनि भित्रपट्टी र सिटहरु राम्रो हुनुपर्यो । मनमनै सोचें र सामान छतमा राख्न लगाएर बस भित्रतिर लागें ।

जब बस भित्र लागें, म आश्चार्यचकित भएँ । साँघुरा सिटहरु, साँघुरो गल्ली, सिटखोल पनि त्यति सफा नराखेका, हल्का नराम्रो गन्ध आएजस्तो आदि । मलाई त नाइट बस जस्तो पनि लागेन । लोकल बस जस्तो । मसंग जान लागेकी भतिजिलाई त त्यतिखेर नै बान्ता होला झै भयो । मन खिन्न बनाउदै सिटमा बसें । बस्दाखेरी नै अफ्ठेरो महसुस भयो । सिट ज्यादै साँघुरा थिए । फोल्डिङ गर्नुपर्यो भनि हात सिटमुनी घुसाएँ । फोल्डिङ गर्ने चिज कतै भेटिएन । भेट्न नि कसरी भेटियोस भाँचिसकेको रैछ । झनै दिक्क लागेर आयो । ठाडो ठाडो सिटमा बसेर रातभर यात्रा गर्नुपर्ने, त्यो पनि थानकोटतिरको जाम छिचोल्दै जानुपर्ने । सम्झदा झन् कहिले घर पुगौला झै भयो । गाडी गुड्यो ।

बसको बीच गल्लिमा बाहिर जानै कठिन हुनेगरी भरिभराउ सामान राखिएको थियो । यसपटक भुइमा यात्रुहरु चाहिँ राख्न नदिने भन्ने ट्राफिक प्रहरिको अन्तर्वार्ता केहि दिन अघि रेडियोमा सुनेको थिएँ । तर गाडी कलंकी नपुग्दै यात्रुहरु ठेलम ठेल भरिसकेका थिएँ । उक्त ट्राफिकको अन्तर्वार्ता सम्झेर मनमनै हाँसो लागेर आयो । कति चाँडै थानकोट पुग्न थालिएछ । यसपटक यो क्षेत्रमा किन जाम भएन अचम्मै लाग्यो । जे होस समयमै घर पुगिनेमा ढुक्क भएँ । थानकोट चेकपोष्ट पुग्नै लाग्दा गाडी रोकियो । ती बीचमा सवार यात्रुलाई चेकपोष्ट अगाडिसम्म हिडेर जान र त्यसपछि मात्र फेरि गाडिमा चढ्न सहचालक र कन्डक्टरले आदेश दिए । बिचारा यात्रु पनि आदेश मुताविक गर्न बाध्य थिए र त्यसै गरे पनि । मलाई त्यो चेकपोष्टप्रति समेत उपहास लागेर आयो ।

समयमै थानकोट पार गरिसकेका थियौं । जाम पनि थिएन । ओरालोमा बाहिरको चिसो हावा भित्र फ्यांक्दै गाडी अगाडि हुइकिरहेको थियो । अँध्यारो पनि भैसकेको थियो । यत्तिकैमा म निदाएछु । केहि समय पछि म झसङ्ग ब्युझिएँ । गाडी रोकिएको थियो । यात्रुहरु पनि सबै बाहिर झर्दै गरेका थिए । खाना खानलाई गाडी रोकेको रैछ । यो कुन ठाउँ हो भनी सोध्दा होटेलवालाले जवाफ दियो – “कृष्णभिर” । घडी हेरे रातिको साढे नौ बज्न थालेछ । यसपटक खाना पनि चाडै खुवायो । यस्तै यात्राको क्रममा एकपटक मैले रातिको १२:०० बजे पनि खाना ख्वाएको घटना सम्झिएँ । राजमार्गको खाना कहिले पो मीठो हुन्थ्यो र? खाली महंगो मात्र । खाए नखाए झै गरेर फर्किएँ आफ्नै गाडी भित्र ।

गाडी फेरि आफ्नै गन्तव्यमा कुद्न थाल्यो । केही बेर पछि म निदाउनै लागेको थिएँ, गाडी फेरि रोक्कियो । बिपरित दिशाबाट पनि गाडिहरु आइरहेका थिएनन् । के भएको र किन यस्तो भयो साहेद कसैलाई थाहा थिएन । हपहप गर्मीले गर्दा पसिना पनि बग्न थालेको थियो । यात्रुहरु कोहि बाहिर भित्र गरिरहेका थिए भने कोहि झ्यालबाट बाहिर हेर्दै थिए । म पनि बाहिर जाने सोचिरहेका बेला बाहिर सिमसिम पानी पर्न थाल्यो । बाहिर गएर ओत लाग्ने ठाउँ समेत थिएन । बायाँ पट्टि भिर त दायाँ पट्टि सलबलाउदै बग्ने त्रिशुली नदी । बाहिर गएका यात्रु हतपत भित्र पसे । रोकिएको गाडिमा सबै यात्रु भित्र बस्दा एकाअर्काको तातोले झनै गर्मी बढ्यो । यत्तिकैमा ४०-४५ मिनेट नै बित्यो तर गाडी अझै चलेन । गाडि नचलेको कारण कसैलाई थाहा थिएन । गाडीको लामो जाम नै भैसकेको थियो ।

कसैले गाईगुइ हल्ला गर्दै थिए – पोखरा पट्टि जाने बाटो बिग्रेकोले यता पट्टि जाम बढेको रे । कोहि भने हाम्रै राजमार्गमा पहिरो गएर बाटो बन्द भएको कुरा सुनाउदै थिए । करिब एक घण्टा नै बित्न लाग्दा गाडी चल्ला जस्तो भयो । अब चाहिँ गुड्ने भयो भनेर मन ढुक्क भयो । तर २ मिनेट नगुड्दै गाडी फेरि रोकियो । अगाडी पछाडी अरु गाडीहरुको ताँती थियो । दायाँ पट्टि भने ट्राफिक प्रहरीको जस्तो गाडी साइरन बजाइदै ओहोरदोहोर गर्दै थियो । यत्तिकैमा अर्को एक घण्टा बित्नै लाग्यो । गाडी फेरि गुड्न थाल्यो तर १-२ मिनेट मै रोकियो । बिपरित दिशाबाट अलिअलि गाडी आउन थालेका थिए । पटकपटक गाडी यसरि नै एक छिन चल्ने र बेसि रोकिने क्रम चली नै रह्यो । गर्मीले सताईरहेका बेला निन्द्राले पनि च्याप्दै थियो । थोरै भोक पनि लागेजस्तो हुँदै थियो । कोहि मान्छेहरू चाउचाउ बिस्कुट र पानी समेत खादै थिए । अन्तिम सिटतिर बस्ने आफुलाई स्टाफ नर्स बताउने एक युवतीले भने दुई-तीन जना केटाहरुसंगै बसेर सबैले सुन्ने गरि गफ उडाउदै थिइन् ।

गाडी गुड्ने र रोकिने क्रम चलिरहेकै थियो । हिजो बेलुका ५ बजे काठमाडौबाट छुटेको बस बिहानको ५ बज्नै लाग्दा समेत नारायणगढ (चितवन) पुग्न सकेको थिएन । गाडि अझै आफ्नो गतिमा अगाडि बढ्न सकेको थिएन । यत्तिकै म फेरि निदाएछु । केही समयपछी म बिउँझदा बाहिर उज्यालो भैसकेको थियो । घडी हेरे ८ बजिसकेछ तर हामी अझै चितवनको रामनगरतिर नै रहेछौं । बाहिर बाटोमा बुङ्बुङ धुलो उड्दै थियो । बाटोको अवस्था हेर्दा कच्ची रोड जस्तो थियो । बाटो बनाउनलाई ठाउँठाँउमा भत्काएको रहेछ । बाटोको यस्तो दुरावस्था र चाडवाडको बेला गाडिको चापले गर्दा यति साह्रो जाम भएको हुनुपर्छ । नारायणगढ पुग्दासम्म बाटोको अवस्था यस्तै थियो । बिहानको ९ बज्नै लाग्दा बल्ल नारायणीको पुल पार गरियो । यतिबेला सम्म गन्तव्यमा पुगिसक्नु पर्ने हामी बल्ल बल्ल आधा यात्रा तय गर्दै थियौं ।

बिहानको १० बज्नै लाग्दा नवलपरासी जिल्लाको राजमार्ग छेउको एक ठाउँमा फेरि खाना खानलाई गाडी रोकियो । अरुबेला यात्राको क्रममा एकपटक खाना खाए पुग्थ्यो तर यसपटक दुइचोटी खाना खान बाध्य भैयो । त्यो पनि चर्को मुल्यमा गुणस्तरहिन र नमिठो खाना । जेहोस् बेलुकाको भन्दा बिहानको खाना भने केही राम्रो रहेछ । खाना खाईसकेपछी हामी फेरि गन्तव्य तिर नै हानियौं । अहिले भने गाडी मज्जाले फिलिली दौडिरहेको थियो । यसरी ठाउँठाउँमा सानातिना अफ्ठ्यारा पन्छ्याउदै बल्ल बेलुकाको ६ बज्नै लाग्दा हामी आफ्नो गन्तव्य तुल्सिपुर पुग्यौं । करिब १२ घण्टामा पुगिने ठाउँमा हामी झण्डै २५ घण्टामा पुगेका थियौँ । यति लामो समय बसमा यात्रा गरेको साहेद मेरो यो पहिलो घटना हुन सक्छ ।

मेरो त्यो गन्तव्य त थियो तर अन्तिम गन्तव्य (आफ्नो घर) भने अवश्य थिएन । त्यो दिन त्यही दिदीकोमा बसियो र भोलिपल्ट घरको यात्रा थालियो । त्यसदिनको यात्रा समेत अघिल्लो दिनको यात्रासंग फरक थिएन । न राम्ररी सिटमा बस्न पाइएको थियो न भनेको समयमै पुगिएको थियो । बीचमा गाडी बिग्रेको कारण त्यो दिन पनि अढाई घण्टाको बाटोमा झण्डै पाँच घण्टा लागेको थियो ।

लामो यात्रामा यस अघि सानातिना समस्या त नभोगेको होइन तर यसपटक भने अलि धेरै नै भोगियो । त्यसैले, दशैंको बिदाको फुर्सदमा यसलाई यात्रा संस्मरणरुपी ब्लग समेत बनाउन भ्याएँ । यस्तो भोगाई मेरो मात्र नभइ लामो दुरीको यात्रा गर्ने (बिशेषगरि ठुला चाडपर्वको बेला) कयौं मानिसहरुको साझा भोगाई हुन सक्छ । समयको विकासक्रम संगै हाम्रो यातायात व्यवस्था र सडक संजालको आधुनिकीकरणका नाराहरु बेलाबेला नेताहरुबाट सुन्ने गरिन्छ । तर, व्यबहारमा सुध्रिनुको साटो झन बिग्रदै जाने गरेको पाउँदा देशको अवस्था प्रति नै चिन्ता लागेर आउँछ ।